केटी बेच्नेलाई बीस वर्षको जेल सजाय...
नुवाकोट, मंसिर १८– दुई युवतीलाई भारतमा लगेर बिक्री गरेको आरोपमा मुद्दा खेपिरहेका एक युवकलाई जिल्ला अदालत नुवाकोटले २० वर्ष कैद सजाय सुनाएको छ । मदानपुर गाविसका १७ र १९ वर्षका दुई युवतीलाई भारतको कोलकातामा दुई वर्षअघि बेचबिखन गरेको अभियोगमा मदानपुर–१ का २७ वर्षीय अमृतबहादुर नेपालीलाई अदालतले २० वर्ष कैद सजाय तोकेको हो । जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ को उपदफा १ को खण्ड क बमोजिम सो अभियोगमा २० वर्ष कैद र रु दुई लाख जरिवाना गरेको हो । पीडित दुई महिलालाई जनही रु एक÷एक लाख क्षतिपूर्ति प्रतिवादीबाट भराउनसमेत आदेश दिइएको अदालतका नायब सुब्बा विकास डिसीले जानकारी दिए ।