प्रहरी हिरासतबाट ३ जना फरार
भागेकामा मध्ये एक पक्राउ....
नेपालगन्ज, मंसिर १७ - बाँके जिल्ला प्रहरी कार्यालयको हिरासतबाट एक भारतीय सहित ३ जना थुनुवा फरार भएका छन् । मंगलबार राति फरार भएका ती अभियुक्तहरु मध्ये २ जना लागू औषध कारोबारमा र एक जना सार्वजनिक अपराधको आरोपमा पक्राउ परेका थिए ।
फरार हुनेहरुमा बाँके जयसपुरका सायलबाबु अन्सारी र हिरमिनीयाका रसिद अहमद शेख छन् । यी दुई जना लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका हुन । अर्का भारतीय नागरिक बिकास बाबु धोवी सार्वजनिक अपराधको आरोपमा पक्राउ परेका थिए । प्रहरी हिरासतबाट फरार भएका मध्ये रसिद अहमदलाइ भारतको चौकीया मोडबाट प्रहरीले पुनः पक्राउ गरेको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए । बाँकी दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीनै जना मंसिरको पहिलो साता पक्राउ परेका थिए । उनीहरु ढोका फोरेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक कोइरालाले डियुटीमा लापरवाही गर्ने प्रहरी माथि कारबाही गर्ने बताए ।